इजरायली आक्रमणमा इरानका सेक्युरिटी चिफ मारिए, नयाँ सुप्रिम लिडरलाई पनि खोजेर अन्त्य गर्ने चेतावनी
काठमाडौँ — अमेरिका–इजरायल र इरानबीच युद्ध चलेको १९ दिन पुगिसकेको छ । १९औं दिनसम्म आइपुग्दा इजरायलको आक्रमणमा इरानका सेक्युरिटी चिफ लिडर अली लारिजानी र उनका छोराको मृत्यु भएको छ । इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कर्प्सले यसको पुष्टि गरेको छ ।
आईआरजीसीले यसपछि इजरायलको राजधानी तेल अविवमा एक सय भन्दा धेरै स्थानमा मिसाइल प्रहार गरेको छ । यो आक्रमण लारिजानी र उनका छोरा बसीज प्यारामिलिट्री फोर्सका कमान्डर घोलामरेजा सुलेमानीको हत्याको बदला लिनका लागि गरिएको इरानले बताएको छ ।
यस्तै इजरायलको बलियो प्रतिरक्षा प्रणालीले यो आक्रमणलाई रोक्न नसकेको इरानको दाबी छ । यता इजरायलले मिसाइलका टुक्रा खसेर एक महिलाको मृत्यु भएको बताएको छ ।
इजरायलले बसीज फोर्समा गरिएको आक्रमणको भिडियो जारी गरेको छ । इजरायली सेना आईडीएफद्वारा जारी भिडियोमा बसीज प्यारामिलिट्रीको ठेगानामा आक्रमणको दृश्य देख्न सकिन्छ । उक्त आक्रमणमा कमान्डर घोलामरेजा सुलेमानीको मृत्यु भएको छ ।
बसीज फोर्स इरानको एक स्वयंसेवक फोर्स हो । जो आवश्यकता परेका बेला प्रहरी र सेनाजस्तै काम गर्न सरकारको साथमा उभिने गर्दछ । इजरायली सेनाले इरानका नयाँ सुप्रिम लिडर मुजतबा खामेनेईलाई खोजेर अन्त्य गर्ने चेतावनी दिएको छ । सेनाका प्रवक्ता एफी डेफ्रिनले पत्रकारहरुसँग कुरा गर्दै मुजतबा खामेनेई सार्वजनिक रुपमा कम देखिएको र उनका बारेमा धेरै जानकारी नभएको बताएका छन् । तर उनी जहाँ भए पनि खोजेर अन्त्य गर्ने डेफ्रिनले बताए ।
यता लेबनानको दक्षिणी क्षेत्रमा इजरायलको आक्रमणमा परी एक दर्जन बढी जना मारिएको बताइएको छ । सैदा जिल्लाको अल अकीब्या सहरलाई इजरायली सेनाले निशाना बनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलले राजधानी बेरुतमा भएको आक्रमणमा ६ जना मारिएको जानकारी दिएको छ । दक्षिणी र पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी ११ जना मारिएका छन् भने ९ जना घाइते भएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज स्ट्रेटमा कुनै पनि दुश्मन देशहरुलाई जान नदिने बताएका छन् । उनले यो बाटो इरानसँग भएकाले दुश्मन देशहरुलाई यसको नजिक पनि जान नदिने बताएका हुन् । युद्ध अन्त्यपछि पनि होर्मुज स्ट्रेट सञ्चालनका लागि नयाँ नियम बनाइनेसमेत उनले बताएका छन् ।








प्रतिक्रिया